काठमाडौं - रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायीको समन्वयमा प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्।
पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणलाई सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी सत्यापन तथा क्रस–चेक गर्ने काम भइरहेको बोर्डले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१, ट्रेकर्स सोसाइटीबाट ९२, लिफ होलिडेबाट ५५, हिमालयन ग्लेसियरबाट ५२, कैलाश जर्नीबाट ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सबाट २७, अल्पाइन इको ट्रेकबाट २०, काठमाडौं होलिडेबाट १७, रिचा टुर्सबाट १२ र एक्सप्लोर भ्याकेसनबाट ७ जना सम्पर्कविहीन भएको विवरण छ।
बोर्डले आपत्कालीन अवस्थाका लागि टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्पर्कविहीन पर्यटकबारे जानकारी भएमा नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरलाई तत्काल जानकारी गराउन बोर्डले अनुरोध गरेको छ। साथै पर्यटकलाई शान्त रहन, आधिकारिक सूचना लिन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।



