सिन्धुपाल्चोक - पहिरोका कारण ४० दिनदेखि बन्द रहेको तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुलेको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकोमा असार ३१ गते पहिरो जाँदा सडक भासिएपछि यातायात ठप्प भएको थियो।
सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन चल्न थालेका हुन्। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको थियो।
इको सडक खुलेसँगै कोदारीमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङपारि अझै करिब ८५ वटा कन्टेनर रोकिएका छन्।
सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले डाक्लाङमा सडक सहज भइसकेको र अब लिपिङको सडक मर्मत पनि चाँडै सुरु गरिने बताए ।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले भने इकोको सडक खुले पनि लिपिङ र चीनतर्फको पहिरोको समस्या समाधान नभएसम्म नाका पूर्ण रूपमा सहज नहुने बताए ।
बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर क्षेत्रमा वर्षायाममा पटक–पटक पहिरो जाने र सडक भासिने समस्या हुँदै आएको छ। व्यवसायीले लामो समय सडक बन्द हुँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताएका छन्।

