Harsamaya

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने धातुसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बंगलादेशी नागरिक ३५ वर्षीय मोहम्मद रसेल हल्दारलाई पेटभित्र लुकाएर ल्याएको शंकास्पद धातुसहित नियन्त्रणमा लिइएको हो।

उनी बंगलादेशबाट फ्लाई दुबईको एफजेड ११३३ उडानमार्फत काठमाडौं आएका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गर्ने क्रममा शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको पेल्भिक क्षेत्रको एक्स–रे गरिएको थियो। एक्स–रेमा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई अस्पताल भर्ना गरी निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाँच दिन अस्पतालमा राखेर निगरानी गर्ने क्रममा भदौ ५ गते शौच गराउने क्रममा करिब १५० ग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो रङको क्याप्सुल आकारको धातुका दुईवटा वस्तु फेला परेका छन्।

बरामद वस्तु आवश्यक परीक्षण तथा अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update