कैलाली - कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २ गते सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई गोली हान्दा गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। घाइते विश्वकर्माको उपचारका लागि लैजाने क्रममा सडकमा मृत्यु भएको हो।
घटनापछि शवलाई जङ्गलमा लगेर राखी भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारु पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा राकेशले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडस्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेपछि प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

