ललितपुर - महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित एक घरबाट चाँदी, तामा तथा पित्तलका गरगहना र विभिन्न सामग्री चोरी गरी फरार रहेका एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन ३० गते साँझ प्रकाश ताम्राकारको घरबाट धनमाल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले काठमाडौं लैनचौर घर भई हाल हरिसिद्धी बस्ने ३१ वर्षीय अनिल खड्गीलाई पक्राउ गरेको हो।
उनको साथबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला, अष्टमण्डल, पित्तलको पन्यु, चाँदीजस्तो देखिने टिका दानी तथा कल्ली, विभिन्न धातुका मूर्ति, घडी, सुनजस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला र कपडालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
खड्गीविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

