काठमाडौं - साउन २९ गते देखि देशभरका हलहरूमा प्रदर्शनमा आएको चलचित्र हो ‘लज्जावती’ । चलचित्र ‘लज्जावती’ केवल एउटा मायाको कथा मात्र नभइ प्रेमको गहिराइ र सामाजिक यथार्थको एउटा जीवन्त ऐना हो ।
फिल्म हेरिरहँदा कतिबेला आँखा रसाए र कतिबेला ओठमा मुस्कान छायो, दर्शकले पत्तै पाउँदैनन् । निर्देशक राजबहादुर सानेले एउटा सामान्य प्रेमकथालाई पनि दर्शकको मुटु छुनेगरी पर्दामा उतारेका छन् ।
अभिनयको त्रिवेणीः भावना र हाँसोको सन्तुलन
यो चलचित्रको सबैभन्दा बलियो कडी भनेकै यसका पात्रहरू र उनीहरूको जीवन्त अभिनय हो ।
श्री कृष्ण निरौला (सङ्गी) : फिल्ममा सङ्गीको भूमिकामा देखिएका श्री कृष्ण निरौलाको अभिनय यो चलचित्रको मुटु हो । एउटा सच्चा प्रेमीले भोग्ने मानसिक उतारचढाव र पीडालाई उनले यसरी पर्दामा जीवन्त बनाएका छन् कि उनको अभिनयले हलमा बस्ने जो कोही भावुक हुन्छन् र आँसु रोक्न सक्दैनन् ।
मेनुका माझी (लज्जावती/डाक्टर) : फिल्मकी मुख्य पात्र ‘लज्जावती’ अर्थात् मेनुका माझीले एउटा डाक्टरको भूमिकामा सन्तुलित र न्यायपूर्ण अभिनय गरेकी छन् । सङ्गी (निरौला) लाई आफ्नो मायामा यसरी पागल बनाइदिन्छिन् कि त्यो प्रेमको गहिराइले दर्शकलाई पनि बाँधेर राख्छ ।
मुकुन भुसाल र जानुका विश्वकर्मा : यी दुई कलाकारको केमेस्ट्री चलचित्रको अर्को एउटा सुन्दर पक्ष हो । उनीहरूले आफ्नो अभिनयमार्फत दर्शकलाई इमोसनल मात्र बनाएका छैनन्, बरु कथाको गम्भीरताका बीचमा उत्तिकै रमाइलो तरिकाले हँसाएका पनि छन् । हाँसो र रोदनको यो सन्तुलनले फिल्मलाई पट्यारलाग्दो हुन दिँदैन ।
कथा भन्दा कलाकारको अभिनय दमदार
‘लज्जावती’को कथा आफैंमा राम्रो र भावनात्मक छ, तर चलचित्रको सबैभन्दा बलियो पक्ष कथा भन्दा कलाकारहरूको अभिनय हो । कथालाई पर्दामा जीवन्त बनाउने काम कलाकारहरूले निकै प्रभावकारी रूपमा गरेका छन् । विशेषगरी श्री कृष्ण निरौलाले सङ्गीको चरित्रमा देखाएको अभिनयले दर्शकलाई पात्रको पीडा, प्रेम र मानसिक उतारचढावसँग प्रत्यक्ष जोडिदिन्छ ।
मेनुका माझीले लज्जावती÷डाक्टरको भूमिकामा गरेको अभिनय पनि सन्तुलित र प्रभावशाली छ । उनी र निरौलाबीचको केमेस्ट्रीले प्रेमकथालाई थप विश्वसनीय बनाएको छ । त्यस्तै, मुकुन भुसाल र जानुका विश्वकर्माले कथाको गम्भीरताबीच हास्य र सहजता ल्याउने काम गरेका छन् । उनीहरूको अभिनयले चलचित्रलाई एकोहोरो भावुक बन्न दिएको छैन ।
यद्यपि, कथाको प्रस्तुति भने कलाकारको अभिनयजति कसिलो छैन । राम्रो कथा हुँदाहुँदै पनि घटनाक्रमलाई एउटै लय र ट्र्याकमा निरन्तर बगाउन नसक्दा केही ठाउँमा चलचित्र अलि सुस्त र छरिएको महसुस हुन्छ । केही दृश्य र घटनालाई अझ चुस्त ढङ्गले सम्पादन तथा संयोजन गर्न सकेको भए कथा र अभिनय दुवैको प्रभाव अझ बलियो हुने थियो ।
लज्जावतीको कमजोर पक्ष
‘लज्जावती’ले प्रेम, पीडा र सामाजिक यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गर्न सफल भएपनि चलचित्र पूर्ण रूपमा कमजोरीरहित भने छैन । विशेषगरी कथाको गति केही ठाउँमा असन्तुलित देखिन्छ । प्रेम र भावनालाई बलियो बनाउन खोज्दा कतिपय दृश्य तथा संवाद अलि तन्किएको महसुस हुन्छ, जसले कथालाई केही ठाउँमा सुस्त बनाउँछ ।
त्यस्तै, सङ्गी र लज्जावतीको सम्बन्धलाई भावनात्मक रूपमा स्थापित गर्न चलचित्रले पर्याप्त समय दिएको भएपनि केही घटनाक्रममा पात्रहरूको निर्णय र व्यवहारलाई अझ स्वाभाविक ढङ्गले विकास गर्न सकिन्थ्यो । कतिपय मोडहरू अचानक आएको अनुभूति हुन्छ, जसले दर्शकलाई पात्रको मनोविज्ञान बुझ्नुभन्दा घटनाको पछाडि दौडिनुपर्ने अवस्था सिर्जना गर्छ ।
चलचित्रको भावनात्मक पक्ष निकै बलियो भएपनि यही पक्ष कतिपय ठाउँमा ‘ओभरड्रामाटिक’ बन्न पुगेको महसुस हुन सक्छ । दर्शकलाई भावुक बनाउने प्रयासमा केही दृश्य र संवादलाई अझ संयमित बनाइएको भए प्रभाव झन् गहिरो हुन सक्थ्यो । विशेषगरी प्रेम, वियोग र पुनर्मिलनका दृश्यमा निर्देशकले दर्शकको भावनालाई केही बढी नै निर्देशित गर्न खोजेको आभास हुन्छ ।
प्राविधिक रूपमा पनि चलचित्रलाई अझ परिष्कृत बनाउन सकिने ठाउँ देखिन्छ । पाश्र्वसंगीतले भावुक दृश्यलाई उचाइ दिन्छ, तर केही दृश्यमा संगीत र भावनाको संयोजनलाई अलि सन्तुलित बनाइएको भए दृश्य आफैंले दर्शकमा प्रभाव पार्ने सम्भावना थियो ।
अर्को कमजोरी भनेको कथाको मूल प्रेमकथाभन्दा बाहिरका केही पक्षहरूलाई पर्याप्त गहिराइमा लैजान नसक्नु हो । सामाजिक यथार्थलाई उठाउने प्रयास भए पनि त्यसलाई अझ सशक्त रूपमा स्थापित गर्न सकिएको भए चलचित्र केवल प्रेमकथामा सीमित नभई सामाजिक विषयवस्तुमा पनि बलियो टिप्पणी बन्न सक्थ्यो ।
यद्यपि, यी कमजोरीले चलचित्रको समग्र प्रभावलाई पूर्ण रूपमा कमजोर बनाउँदैनन् । बरु ‘लज्जावती’को बलियो भावनात्मक पक्षका कारण दर्शकले यस्ता कमजोरीलाई सहजै स्वीकार गर्ने अवस्था देखिन्छ ।
विशेषगरी मायामा परेका प्रेमी–प्रेमिका वा कुनै कारणले प्रेमबाट छुट्टिएका दर्शकले कथाका कतिपय घटनाक्रम र भावनासँग आफ्नो जीवनको कथा जोड्न सक्छन् । यही आत्मीयता नै चलचित्रको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो ।
अझ सशक्त रूपमा बगाउन सकिन्थ्यो
‘लज्जावती’ को सबैभन्दा ठूलो सम्भावना नै यसको कथा हो । प्रेम, वियोग, मानसिक उतारचढाव र सामाजिक यथार्थलाई जोडेर बनाइएको कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म भावनात्मक रूपमा बाँधेर राख्ने क्षमता राख्छ । तर यही राम्रो कथालाई निर्देशकले अझ कसिलो ‘ट्र्याक’मा बगाउन भने सकेका छैनन् । कतिपय ठाउँमा कथा निकै राम्रो भएर पनि घटनाक्रमको प्रस्तुतिमा निरन्तरता कमजोर देखिन्छ ।
विशेषगरी केही दृश्य र घटनाहरूबीचको संक्रमण स्वाभाविक लाग्दैन । एउटा घटनाबाट अर्को घटनातर्फ जाँदा कथाले लय समातिसकेको अवस्थामा फेरि गति सुस्त हुने वा अनावश्यक रूपमा मोडिने अवस्था आउँछ । यसले गर्दा कथाको मूल भावनासँगै अघि बढिरहेका दर्शकलाई कतिपय ठाउँमा ‘अब कथा कता जाँदैछ ?’ भन्ने महसुस हुन सक्छ । कथा आफैंमा कमजोर नभए पनि त्यसलाई पर्दामा प्रस्तुत गर्ने क्रममा अझै कसिलो सम्पादन र घटनाक्रमको संयोजन आवश्यक देखिन्छ ।
तर यी कमजोरीका बाबजुद ‘लज्जावती’को कथा दर्शकसँग जोडिने खालको छ । विशेषगरी मायामा परेका प्रेमी–प्रेमिका, प्रेममा धोका खाएका वा कुनै कारणले आफ्नो प्रेमबाट छुट्टिएका दर्शकले चलचित्रका पात्र र घटनाक्रममा आफ्नै जीवनको कथा भेट्टाउन सक्छन् । कसैलाई आफ्नो पहिलो प्रेम सम्झना आउन सक्छ, कसैलाई छुटेको सम्बन्ध, त कसैलाई अधुरो प्रेमको पीडा ।
सायद यही कारणले चलचित्रका कमजोरीभन्दा यसको भावनात्मक पक्ष दर्शकको मनमा बढी बस्छ । ‘लज्जावती’ पूर्ण चलचित्र नहुन सक्छ, तर यसले प्रेमलाई केवल पाउनुको कथा नभई गुमाउनु, पर्खनु, भोग्नु र अन्ततः प्रेमकै माध्यमबाट आफूलाई पुनः भेट्टाउनुको कथा बनाउने प्रयास गरेको छ । राम्रो कथालाई अझ कसिलो ढङ्गले ट्र्याकमा बगाउन सकेको भए ‘लज्जावती’ अझ प्रभावशाली चलचित्र बन्न सक्थ्यो ।
क्लाइम्याक्स र बिर्सन नसकिने संवाद
चलचित्रको अन्तिम भाग निकै नै मर्माहत र सुन्दर छ । सबै उतारचढावका बीच अन्ततः जब साच्चिकै सङ्गी र लज्जावतीको बिहे हुन्छ, तब हलमा एक किसिमको सुखद तर भावुक माहोल सिर्जना हुन्छ।
फिल्मको अन्त्यतिर आउने एउटा संवादले हलबाट निस्किएपछि पनि दर्शकको दिमागमा गहिरो छाप छाड्छ । त्यो हो फिल्मको इममोशनल डाइलग ‘प्रेमले मान्छेलाई पागल बनाउने के प्रेम, पागललाई मान्छे बनाउने पो प्रेम !’
प्रचारप्रसारमा कमजोर
‘लज्जावती’मा कलाकारहरूको दमदार अभिनय र भावनात्मक कथा हुँदाहुँदै पनि चलचित्रले पर्याप्त प्रचारप्रसार नपाउँदा दर्शकमाझ पुग्न कठिन हुनसक्छ । राम्रो चलचित्र बन्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई दर्शकसम्म पुर्याउन प्रभावकारी प्रचार पनि आवश्यक हुन्छ । विशेषगरी अहिलेको प्रतिस्पर्धात्मक बजारमा दर्शकको ध्यान खिच्न चलचित्र प्रदर्शनअघि र प्रदर्शनपछि निरन्तर प्रचारप्रसार आवश्यक देखिन्छ ।
‘लज्जावती’ जस्तो प्रेम, वियोग र भावनासँग जोडिएको चलचित्रले लक्षित दर्शकसम्म पर्याप्त रूपमा आफ्नो विषय र विशेषता पुर्याउन सकेमा हलसम्म दर्शक तान्ने सम्भावना बलियो हुन्छ । तर प्रचार कमजोर हुँदा चलचित्र राम्रो हुँदाहुँदै पनि धेरै सम्भावित दर्शकलाई यसको प्रदर्शनबारे जानकारी नहुनसक्छ ।
यस अर्थमा ‘लज्जावती’को अर्को चुनौती यसको प्रचारप्रसार नै देखिन्छ । कलाकारको अभिनय र चलचित्रको भावनात्मक पक्षलाई केन्द्रमा राखेर अझ व्यापक रूपमा प्रचार गर्न सकेको भए यसले दर्शकमाझ राम्रो प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।
प्राविधिक पक्ष र निर्देशकीय क्षमता
निर्देशक सानेले ग्रामीण जीवनको यथार्थ, सम्बन्धहरूको संघर्ष र मानवीय मनोविज्ञानलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन् । पाश्र्व संगीतले भावुक दृश्यहरूमा दर्शकको आँसु खसाल्न ठुलो मद्दत गरेको छ ।
त्यसैले ‘लज्जावती’को मूल्यांकन गर्दा कथा भन्दा कलाकारको अभिनयले बढी अंक पाउँछ । कलाकारहरूले आफ्ना पात्रलाई यति स्वाभाविक रूपमा बाँचेका छन् कि कथामा देखिएका केही कमजोरीलाई समेत उनीहरूको अभिनयले छोपिदिन्छ ।
विशेषगरी मायामा परेका प्रेमी–प्रेमिका वा प्रेमबाट छुट्टिएका दर्शकले आफ्नै कथा र पीडा पात्रहरूमा भेट्टाउन सक्छन् । यही आत्मीयता र कलाकारहरूको दमदार अभिनय नै ‘लज्जावती’को सबैभन्दा ठूलो शक्ति हो ।
‘लज्जावती’ भावनाको एउटा यस्तो सागर हो, जसले रुवाउँछ, हँसाउँछ र प्रेमको एउटा नयाँ परिभाषा सिकाउँछ । यदि नेपाली माटोको सुगन्ध भएको, उत्कृष्ट अभिनय र मन छुने संवादहरूले भरिएको एउटा बलियो सामाजिक ड्रामा हेर्न चाहनेहरुका लागि ‘लज्जावती’ राम्रो चलचित्र बनेको छ ।

