नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अनियन्त्रित भई पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकअगाडि रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये अस्पताल पुर्याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
घाइते हुनेमा सर्लाही लालबन्दी–९ घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ घर भई काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्। तीनै जनाको अवस्था मध्यम रहेको र ग्रिनसिटी अस्पतालमै उपचार भइरहेको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

