काठमाडौं - पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै पत्रकारहरूले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको अगुवाइमा भएको प्रदर्शनमा पत्रकारहरूले लालटिन देखाउँदै विरोध जनाएका हुन्। प्रहरीले परिसरअगाडि प्रदर्शन गर्न रोकेपछि पत्रकारहरूले प्लेकार्ड प्रदर्शन गर्दै कालोपट्टी बाँधेर परिसरबाहिर धर्ना दिएका थिए।
प्रदर्शनमा सहभागीले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारले समाचारको स्रोत खुलाउन नपर्ने र अदालतले समेत जबर्जस्ती स्रोत माग्न वा जफत गर्न नमिल्ने कानुनी तथा अन्तर्राष्ट्रिय मान्यता रहेको बताइन्। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु उचित नभएको उनको भनाइ थियो।
अध्यक्ष शर्माले सरकारले संविधान, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको आरोप लगाउँदै गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामासमेत माग गरिन्।
महासंघले पत्रकार श्रेष्ठको पक्राउको घोर भर्त्सना गर्दै कानुनी लडाइँसँगै सडकबाट खबरदारी गर्ने जनाएको छ। प्रेस स्वतन्त्रतामाथिको अङ्कुश नरोकिए राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनीसमेत महासंघले दिएको छ।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।

