चितवन - चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ।
बोटे सोमबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि एक्कासि बेपत्ता भएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए।
बिहान करिब ८ बजे सो क्षेत्रमा बाघ देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा हात्ती प्रयोग गरी खोजी गर्ने क्रममा दिउँसो ४ः२० बजे घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्व राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको हो।
फेला परेको शव मंगले बोटेकै भएको उनका छोराले सनाखत गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

