काठमाडौं - भोटेकोशी बाढीपछि ३७ दिनसम्म परिवारका लागि बेपत्ताको सूचीमा रहेका एक मलेसियाली नागरिक सुरक्षित अवस्थामा मलेसिया फर्किएको खुलेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि ती नागरिकसँग सम्पर्क टुटेको थियो। लामो समयसम्म कुनै खबर नआएपछि परिवारमा उनको अवस्थाबारे अन्योल थियो। तर, उनले काठमाडौँस्थित मलेसियाली दूतावासमा आफैँ सम्पर्क गरेपछि उनी सुरक्षित रहेको पुष्टि भएको हो।
मलेसियाली नागरिकका परिवारको प्रतिनिधित्व गर्ने समूह ‘मलेसिया सोलिडारिटी : फेमिलीज इन होप’ (मस्फिह) का प्रवक्ता मनिभान्नन रेथिनमका अनुसार ती व्यक्ति चिनियाँ मूलका मलेसियाली नागरिक हुन् र नेपालमा एक्लै यात्रा गरिरहेका थिए।
उनी अगस्ट २५ अर्थात् भदौ ९ गते दिउँसो ३ः२६ बजे नागथली भ्यूपोइन्टमा रहेको विवरणसमेत भेटिएको थियो। त्यसपछि बाढीका कारण सडक र पुलमा क्षति पुग्नुका साथै विद्युत्, पानी र इन्टरनेट सेवा प्रभावित हुँदा उनको आवागमन तथा सञ्चारमा समस्या भएको थियो।
दूतावासमा सम्पर्क भएपछि मस्फिहले उनका नजिकका आफन्तसँग समेत सम्पर्क गरी उनी सुरक्षित रूपमा मलेसिया फर्किसकेको पुष्टि गरेको हो।
उनको अवस्था सार्वजनिक भएसँगै नेपालमा बेपत्ता मलेसियाली नागरिकको संख्या ५५ बाट ५४ मा झरेको छ। तर, मस्फिहका प्रवक्ताले यसलाई केवल बेपत्ता व्यक्तिको संख्या घटेको घटनाका रूपमा नभई ३७ दिनको अनिश्चिततापछि एउटा परिवार आफ्नो आफन्तसँग पुनः जोडिएको घटनाका रूपमा लिएका छन्।

