सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङ चुनावी मैदानमा उत्रिएका छन्।
सभापतिका उम्मेदवारमध्ये माया गुरुङ प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण गरेकी तथा रास्वपा सिन्धुपाल्चोककी संस्थापक जिल्ला सभापति हुन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार बन्ने अपेक्षा गरे पनि टिकट नपाएपछि उनीप्रति कार्यकर्तामाझ सहानुभूति बढेको रास्वपा कार्यकर्ताहरूको भनाइ छ।
यसअघि जिल्ला सभापतिका दाबेदार रहेका जेपी सिलवालले भने उम्मेदवारी दिएका छैनन्। रास्वपाको विधानअनुसार महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति जिल्ला सभापतिको उम्मेदवार बन्न नपाउने व्यवस्था रहेकाले उनले उम्मेदवारी नदिएको बताइएको छ।
उपसभापति पदका लागि सरोजा श्रेष्ठ, मुके शेर्पा र निमा याङछेन लामाले उम्मेदवारी दिएका छन्। सचिव पदमा राजिव हमालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन्। सहसचिव पदमा दोर्जे तामाङ र विदुर खड्काबीच प्रतिस्पर्धा हुनेछ भने जिल्ला सदस्यका सात पदका लागि नौ जनाले उम्मेदवारी दिएका छन्।
यसअघि आन्तरिक विवादका कारण स्थगित भएको रास्वपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशन भोलि बिहान ८ बजेदेखि चौतारास्थित कभर्डहलमा पुनः सञ्चालन हुँदैछ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले यसअघि बन्दसत्रपछि सम्पन्न भएका प्रक्रिया सदर गर्ने जनाएको भए पनि जिल्ला नेतृत्व चयनका लागि पुनः उम्मेदवारी मनोनयन गर्नुपर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
यसअघि नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भइसकेको र मतदान मात्र बाँकी रहेको अवस्थामा विवादका कारण अधिवेशन स्थगित गरिएको थियो। पछिल्लो निर्णयअनुसार पुनः उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था भएपछि पहिलेका प्रक्रिया प्रभावहीन बनेका छन्। यही विषयलाई लिएर केही नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन्।
अब पुनः सञ्चालन हुने अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयनका लागि मतदान प्रक्रिया सम्पन्न गरिनेछ।

