काठमाडौं - नेपाली कांग्रेसले सुनसरीलगायत देशका विभिन्न स्थानमा भएका घटनाको न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समिति निष्पक्ष र प्रभावकारी हुन नसक्ने निष्कर्ष निकाल्दै कांग्रेसले स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने अडान लिएको हो।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको सत्य–तथ्य सार्वजनिक गरी कानुनबमोजिम दोषीमाथि कारबाही सुनिश्चित गर्न स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गृह मन्त्रालयले बनाएको समितिले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै न्यायिक छानबिन आवश्यक रहेको बताए । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए ।
बैठकले पार्टीका सांसदहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेर नागरिकसँग प्रत्यक्ष समन्वय गर्ने निर्णय पनि गरेको छ। साथै, सांसदका स्वकीय सचिव नियुक्तिका लागि निश्चित मापदण्ड तयार गरी त्यसअनुसार प्रस्ताव गर्न निर्देशन दिने निर्णयसमेत गरिएको महामन्त्री पौडेलले बताए ।
त्यसैगरी, बैठकले साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।

