Harsamaya
गोठाटारमा भीषण आगलागी : १४ सटर जले, आगो निभाउने क्रममा एक जना घाइते
गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक लागेको आगो ।

काठमाडौं - काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक गएराति भएको भीषण आगलागीमा १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट (सर्ट सर्किट) का कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब ९:१५ बजे सुरु भएको आगलागी झण्डै दुई घण्टापछि ११:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको थियो।

घटनालगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी उपरीक्षक दानबहादुर थापाको नेतृत्वमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको नेतृत्वमा २५ जना तथा सशस्त्र प्रहरी बल सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षक हेराम कुँवरको कमाण्डमा ५० जना गरी कुल १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्तापाताबाट खसेर घाइते भएका उनको मूलपानी नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ र बाहिरी चोट भने देखिएको छैन।

आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, हिमेश गौतमको फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसल गरी १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने मुचुल्का संकलनपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update