काठमाडौं - रुसले लगातार दोस्रो दिन युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेपछि कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। मृतकमध्ये चार जना बालबालिका रहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि पश्चिमी मुलुकहरूसँग तत्काल थप प्याट्रियट हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्। उनका अनुसार रुसले प्रहार गरेका २७ वटा ब्यालिस्टिक मिसाइलमध्ये केवल एउटा मात्रै खसाल्न सफल भएको थियो।
रुसी आक्रमणको मुख्य निशाना राजधानी किएभ र आसपासका क्षेत्र थिए। किएभका मेयर भिटाली क्लिच्कोका अनुसार पाँचतले आवासीय भवनमा मिसाइलको भग्नावशेष खस्दा मानिसहरू भवनभित्रै फसेका थिए भने आगलागीसमेत भएको थियो।
आक्रमणमा उद्धारमा खटिएका २२ वर्षीय प्रहरी अधिकृत येहोर तेरेखिनको पनि मृत्यु भएको छ। उनी सहकर्मीसँग सर्वसाधारणको उद्धार गरिरहेका बेला सोही स्थानमा दोस्रो पटक मिसाइल आक्रमण भएको थियो।
जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममार्फत ‘हामीसँग प्याट्रियट प्रणालीका लागि आवश्यक मिसाइलको अभाव छ। यही कमजोरीले रुसलाई यस्ता घातक आक्रमण गर्न थप हौसला दिएको छ,’ बताएका छन्।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आफ्नै देशमा प्याट्रियट मिसाइल अवरोधक उत्पादन गर्न दिने सार्वजनिक प्रतिबद्धताबाट पछि हटेको केही घण्टापछि आएको हो। ट्रम्पले यस्तो अत्याधुनिक प्रविधि हस्तान्तरण गर्न निकै सावधानी अपनाउनुपर्ने बताएका छन्।
युक्रेनले प्याट्रियट प्रणालीलाई आफ्ना सहर र महत्वपूर्ण पूर्वाधारलाई ब्यालिस्टिक मिसाइलबाट जोगाउन अत्यावश्यक भन्दै तत्काल उपलब्ध गराउन पश्चिमी साझेदारहरूसँग आग्रह गर्दै आएको छ।
यसैबीच, जेलेन्स्कीका अनुसार किएभसँगै ड्निप्रोपेत्रोभ्स्क, सुमी, खार्किभ र पोल्टाभा क्षेत्रमा पनि आक्रमण भएको छ। आक्रमणबाट १८ वटा भवन, एक विद्यालय, लिथुआनियाको दूतावास र अन्य पूर्वाधारमा क्षति पुगेको छ।
स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनभर कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्।
उता, रुसी रक्षा मन्त्रालयले रातभरि मस्को क्षेत्रसहित आफ्ना विभिन्न क्षेत्रमा प्रहार गरिएका २७४ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ।

