काठमाडौं - सुनसरीको देवागन्ज गाउँपालिका–३, कमानागरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।
सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, देवगन्ज गाउँपालिका–३ स्थित मस्जिदको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने, प्रत्येक मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने लगायतका सहमति भएका छन्।
त्यसैगरी, छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषयमा पनि सहमति भएको छ।
सहमति पत्रमा मृतक परिवारका अभिभावक र गृहमन्त्री सुधन गुरुङको हस्ताक्षर रहेको देखिन्छ। हस्तलिखित रूपमा उल्लेख गरिएअनुसार मृतकहरूको अन्त्येष्टि साउन १६ गते दिउँसो २ बजे गर्ने सहमति पनि भएको छ।


