Harsamaya
कप्तानगञ्ज घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन
पूर्वाधारमन्त्री, प्रधानमन्त्री र गृहमन्त्री ।

काठमाडौं - सांसदहरुले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले कप्तानगञ्जमा भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद गोपाल शर्माले सरकारले सुनसरी घटनाको जिम्मेवारी लिनुपर्ने बताए । उनले मुलकुमा दुखद घटना घट्दा पनि राज्य अभिभावको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाउनुभयो । उक्त घटनाका बिषयमा सरकारले तत्काल सदनमा जानकारी गराउन उनले माग गरे । 

त्यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले मुलुकमा संकट आउदा सरकारको भूमिका प्रभावकारी नदेखिएको बताए । दूरबिन लगाएर हेरेर देश ठिक छ भनेर भन्न नपाइने भन्दै उनले सरकार अन्धकारबाट निस्किनुपर्ने धारणा राखे । उनले सरकार बेखबर भयो भन्दैमा अरु मुर्ख हुन नहुने उल्लेख गर्दै सबै नेपाली संयमित भएर अगाडि बढ्न आग्रह गरे । 

त्यस्तै राप्रपा प्रमुख सचेतक खुस्वु ओलीले कप्तानगञ्जमा भएको घटनाको छानविन गर्न माग गरिन् । प्रधानमन्त्रीले फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गरेको भन्दै उनले कसको आदेशबाट गोली चलेको हो भन्दै प्रश्न गरे । उनले अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा सीमित नरही घटनाको गहिराइसम्म पुगेर निष्पक्ष र विश्वसनीय छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उल्लेख गरे । 

त्यस्तै अन्य सांसदहरुले पनि सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update