Harsamaya
सुनसरी घटनाको प्रभाव कोशी र मधेशसम्म, कर्फ्यूकाबीच प्रदर्शन
कर्फ्यूकाबीच प्रदर्शन ।

विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर आइतबार राती नै २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि मंगलबार पनि दिनभर कोशी प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ । घटनाको प्रभाव सुनसरी, मोरङ हुँदै मधेश प्रदेशसम्म फैलिएको छ ।

प्रदर्शनका कारण सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो । राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिए भने यात्रुहरू समस्यामा परेका छन् । इटहरी–पश्चिमतर्फ सवारी सञ्चालनसमेत प्रभावित भएको थियो ।

यसका विच जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्र राजमार्गअन्तर्गत पकली चोकदेखि कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको दुवैतर्फ नै २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । 

कर्फ्यू अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

विराटनगरमा पनि आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायत बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरिएपछि अधिकांश पसल बन्द भए र बजारको जनजीवन प्रभावित बन्यो । 

आन्दोलनकारीहरूले बुधहाट चोकमा श्रद्धाञ्जली सभासमेत आयोजना गरेका थिए । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यता, सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा पनि तनाव उत्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका व्यवसायीका पसलमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

आन्दोलन फैलिन थालेपछि सुनसरीका विभिन्न संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ । 

आइतबार राति बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेका थिए । उक्त घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update