जनकपुर - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।
हिन्दूवादी संघसंस्था एवम जनकपुरधामका युवावर्गहरुले रामानन्द चोकमा चक्का जाम गर्नुका साथै नाराबाजी गरेका छन् । उनीहरुले हिन्दू समुदायमाथि लक्ष्ति गरेर भएको कुटपीट तथा गोली चलाइएको विरोधमा नाराबाजी गरेका छन् ।
उनीहरुले सुनसरी एसपी र सिडियो मुर्दाबाद, हिन्दू मार्न पाउँदैन, हिन्दू एकता जिन्दावाद, हिन्दूलाई न्याय दे लगायतका नारा लगाएका छन् ।
पटक पटक हिन्दू समुदायमाथि चाडपर्वका बेला मुस्लिम समुदायले योजना बनाएर कुनै न कुनै अप्रीय घटना घटाउने गरेको भन्दै हिन्दूहरु अब एक जुट हुनुको विकल्प नरेहको उनीहरुको भनाई छ ।
उनीहरुले झडप सुरु भएको समय बत्ती काटिनु, र प्रहरीले पनि गोली चलाउँदा उल्टै हिन्दू युवालाई नै लाग्नुले यो घटना नियोजित रहेको आरोप लगाएका छन् ।
सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो । उक्त झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

