Harsamaya
सुरुङमार्गले दूरी घटाएर इन्धन र समय बचाउँछ : मन्त्री लम्साल
पूर्वाधार मन्त्री सुनिल लम्साल ।

काठमाडौं - पूर्वाधार मन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याएर इन्धनको खपत घटाउनु, यात्रा सुरक्षित बनाउनु र यातायातलाई प्रभावकारी बनाउनु रहेको बताएका छन्।

सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडक दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण गरिने बताए।

उनका अनुसार लामो दूरी घुमेर यात्रा गर्नुपर्ने अवस्थाले इन्धन र समय दुवै बढी खर्च हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याई यातायात लागत घटाउन महत्वपूर्ण भूमिका खेल्छ।

मन्त्री लम्सालले कुनै सडक खण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र पर्याप्त सवारी चाप हुने अवस्था भएमा मात्र त्यस्ता परियोजना अघि बढाइने स्पष्ट पारे। उनले यस्ता आयोजना व्यवहार्यता (सम्भाव्यता) अध्ययनका आधारमा छनोट गरिने बताए।

पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सुरुङमार्ग प्रभावकारी विकल्प हुने उल्लेख गर्दै उनले सरकारले आगामी योजनाहरूमा यस्ता क्षेत्रलाई प्राथमिकतामा राखी सुरुङमार्ग निर्माणलाई अघि बढाइरहेको जानकारी दिए।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update