Harsamaya

जनकपुरधाम – नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफ्नो धितोमा रहेको जग्गा आफूलाई जानकारी नै नदिई पुनःधितो राखेर चार करोड रुपैयाँ ऋण निकालिएको भन्दै ठगीमा परेको दाबी गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै साहले आफू ठगिएको थाहा पाएपछि धनुषा प्रहरीमा उजुरी दिएको जानकारी दिए।

उनका अनुसार विसं २०७९ मा चिनजानका एक व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिँदा पत्नीको नाममा रहेको धनुषाको विदेह नगरपालिका–६ तीनकौरियास्थित पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक राखिएको थियो। तर पछि आफूलाई कुनै जानकारी नदिई सोही जग्गा पुनःधितो राखेर अर्का व्यक्तिबाट चार करोड रुपैयाँ ऋण लिइएको थाहा पाएपछि कानुनी प्रक्रिया अघि बढाएको उनले बताए।

साहले पटक–पटक साँवा–ब्याज बुझाएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा पनि विभिन्न बहाना बनाइएपछि बाध्य भएर ठगीको उजुरी दर्ता गराएको बताए।

पूर्वएसएसपी साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको आरोपमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update