कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ
काठमाडौं - आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराज नगरपालिकाकी कविता वेल्वासे रहेका छन्।
प्रहरीका अनुसार श्रेष्ठले कम्बोडिया पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ र वेल्वासेले यूएई पठाइदिने भन्दै एक लाख आठ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

