Harsamaya
चितवनको पहिरो पन्छियो, धादिङमा अवरोध कायम
सवारी जाम ।

चितवन  - पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। तर धादिङमा पहिरो नहटेकाले पृथ्वी राजमार्गमा सवारी आवागमन अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

इच्छाकामना गाउँपालिका–२ को फिस्लिङस्थित पानीधारा र चुमखोलामा आइतबार बिहान खसेको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि चितवन खण्डको सडक खुलेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध रहेकाले चितवनतर्फको सडक खुले पनि काठमाडौंतर्फ जाने सवारी सञ्चालन हुन सकेको छैन। चितवनबाट छुट्ने सवारीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएको छ।

यता नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ जाने र आउने सवारी भने सञ्चालनमा छन्।

लगातार वर्षापछि थप पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले शनिबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेको थियो। रातिदेखि रोकिएका सयौं सवारी अझै गन्तव्यतर्फ जान नसक्दा सडकमा लामो जाम लागेको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update