Harsamaya
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य र भ्रामक रहेको उनको सचिवालयले जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल र विभिन्न माध्यममा देउवा लडेर हात भाँचिएको भन्ने आधारहीन हल्ला फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता भ्रामक समाचार र अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै सचिवालयले यस्ता गतिविधिबाट भ्रम सिर्जना हुने जनाएको छ।

सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट सत्यता पुष्टि गर्न आग्रह गरेको छ। साथै तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update