Harsamaya
विद्यार्थी पक्राउपछि एमालेको आक्रोश : सरकारले ‘राज्य आतङ्क’ मच्चायो
महासचिव शंकर पोखरेल ।

काठमाडौं - नेकपा एमालेले सिंहदरबार गेटअगाडि प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात विद्यार्थी नेतालाई पक्राउ गरिएको घटनाको कडा विरोध गर्दै सरकारमाथि ‘राज्य आतङ्क’ मच्चाएको र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ।

महासचिव शंकर पोखरेलद्वारा बुधबार जारी प्रेस वक्तव्यमा मुलुकमा बढ्दो महँगी, सुकुम्बासीमाथिको अत्याचार र राज्यका गतिविधिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि सरकारले बर्बरतापूर्ण दमन गरेको उल्लेख गरिएको छ।

एमालेले सरकार आफैंले सञ्चारगृह, राजनीतिक नेता तथा व्यवसायीका निवास र कार्यालय अगाडि गाडी पार्किङ गराएर अवरोध सिर्जना गरेको दाबी गर्दै त्यसकै सांकेतिक विरोध गरिरहेका अनेरास्ववियु अध्यक्ष दीपक धामी, जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले बलपूर्वक पक्राउ गरेको जनाएको छ।

वक्तव्यमा सरकारले नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार कुण्ठित गरेको आरोप लगाउँदै यसलाई लोकतन्त्र र मानवअधिकारको ठाडो उल्लङ्घन तथा ‘अधिनायकवादी कदम’ को संज्ञा दिइएको छ।

एमालेले पक्राउ परेका सातै विद्यार्थी नेतालाई तत्काल, बिनासर्त र ससम्मान रिहा गर्न सरकारसँग माग गर्दै सरकारको कदमको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update