Harsamaya
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित)
नेपाली कांग्रेसकी सांसद उर्मिला (सीता) थपलिया ।

काठमाडौं - नेपाली कांग्रेसकी सांसद उर्मिला (सीता) थपलियाले सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको ट्रोलिङका कारण मानसिक रूपमा विक्षिप्त बनेर दुई पटकसम्म आत्महत्याको प्रयास गरेको खुलासा गरेकी छिन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही दिनअघि तीन जना युवाले २४ घण्टाको अन्तरालमा आत्मदाह गरेको घटनापछि संसदमा सरकारको ध्यानाकर्षण गराउँदा सामाजिक सञ्जालमा आफूविरुद्ध व्यापक ट्रोलिङ भएको बताइन् । 

‘सरकारले कुरा नसुनिसकेपछि हाम्रो शैली फरक थियो। तर, त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा जुन ट्रोल बनाइयो, त्यो सहन नसकेर म एकदमै विक्षिप्त भएँ र यो अवधिभरि आफैँले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ,’उनले भनिन् । 

सांसद थपलियाले सामाजिक सञ्जालको दुरुपयोग र साइबर बुलिङले व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै यसबारे राज्य र समाज दुवैले गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औंल्याइन् । 

सम्बोधनको अन्त्यमा उनले महिलामाथि हुने निरन्तर सामाजिक परीक्षण र आलोचनाप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ‘सत्ययुगकी सीतादेखि कलियुगको सीतालेसम्म यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्छ? म तयार छु, सभामुख महोदय।’

[सम्पादकीय नोट: यस समाचारको शीर्षक परिमार्जन गरी 'अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु' : सांसद सीता थपलिया कायम गरिएको छ।]

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update