Harsamaya
बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका–१ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगालको सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

प्रहरीले घर तथा कोठा खानतलासी गर्दा एक हजार दरका ६२२ थान अर्थात् ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ।

यस्तै, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ परेका सबै जनामाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update