काठमाडौं - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्र गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको खुलासा गर्दै सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’ मा आउने अधिकांश गुनासो भुक्तानी नपाएको विषयसँग सम्बन्धित रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले ‘हेलो पूर्वाधार’ मा आउने करिब ९० प्रतिशत फोन वडा कार्यालय, स्थानीय तह, प्रदेश सरकार वा ठेकेदारबाट भुक्तानी नपाएको गुनासोसँग सम्बन्धित हुने जानकारी दिए।
उनका अनुसार समस्या यतिमै सीमित छैन। ठेकेदार कम्पनीले पनि आपूर्तिकर्ता (भेन्डर) र श्रमिकलाई रकम नदिँदा उनीहरूबाट समेत गुनासो आइरहेको छ। ‘कतिपयले भुक्तानी नपाए आत्मदाह गर्नेसम्मको धम्की दिनुभएको छ,’ मन्त्री लम्सालले संसदमा भने।
निर्माण क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सरकारले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताउँदै उनले न्यून दरमा ठेक्का हाल्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको दाबी गरे।
उनका अनुसार पछिल्लो आठ वर्षमा निर्माण व्यवसायीको संख्या १९ हजारबाट बढेर ३२ हजार पुगेको भए पनि धेरै व्यवसायीमा प्राविधिक क्षमता र वित्तीय व्यवस्थापनको अभाव देखिएको छ। न्यून मूल्यमा ठेक्का लिएपछि समयमै काम सम्पन्न गर्न नसक्ने, श्रमिक र आपूर्तिकर्तालाई भुक्तानी गर्न नसक्ने समस्या बढेको उनको भनाइ छ।
मन्त्री लम्सालले निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता र सेवाग्राहीलाई अतिरिक्त रकम वा घुस नदिन आग्रह गर्दै कसैले माग्यो भनेर दिनुभयो भने भ्रष्टाचार कहिल्यै अन्त्य नहुने बताए ।
फरक प्रसंगमा उनले केही दिनअघि भएको आत्मदाहको घटनाले सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता घटना कुनै एक कारणले मात्र नभई आर्थिक संकट, न्याय नपाउने अवस्था र सामाजिक समस्याको लामो शृंखलाको परिणाम हुने बताए।
त्यस्तै, काठमाडौं महानगरपालिकाका नगर प्रहरीप्रति टिप्पणी गर्दै उनले पछिल्ला घटनाका कारण मनोबल कमजोर नबनाउन आग्रह गरे।
नगर प्रहरीले ट्राफिक व्यवस्थापन र आकस्मिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जिम्मेवारी निर्वाहमा निरन्तर लागिरहन उनले आग्रह गरेका छन्।

