काठमाडौं - नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रतिनिधिसभामा सरकारमाथि कडा राजनीतिक प्रहार गर्दै वर्तमान सत्ता प्रश्न गर्ने नागरिकलाई दण्डित गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
मंगलबार संसदमा विशेष समय लिएर बोल्दै राईले पुराणको हिरण्यकश्यपु–प्रह्लाद प्रसंगबाट आफ्नो मन्तव्य सुरु गर्दै अहिलेको सरकारले पनि आलोचना र प्रश्नलाई अपराधका रूपमा लिन थालेको दाबी गरे।
उनले सरकारलाई लोकतान्त्रिक मूल्यभन्दा बहुमतको दम्भमा चलेको आरोप लगाउँदै श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने मानसिकता स्थापित गर्न खोजिएको बताए ।
राईले गणेश नेपालीको आत्मदाह, कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरको अवस्था, जेनजी आन्दोलनका अभियन्तामाथिको प्रहरी दमन, सञ्चारमाध्यम र कांग्रेस सभापतिको निवासअगाडि सवारी पार्क गरेर त्रास सिर्जना गरिएको घटनालाई एउटै प्रवृत्तिको उदाहरणका रूपमा प्रस्तुत गरे।
उनले गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै नागरिकको जीवन, न्याय र रोजगारीको संवैधानिक अधिकारको रक्षा गर्न सरकार असफल भएको आरोप लगाए।
सुकुम्बासी हटाउने क्रममा संविधानले सुनिश्चित गरेका आवास, खाद्य र स्वास्थ्यका अधिकारसमेत उल्लंघन भएको उनको भनाइ थियो।
गृहमन्त्रीले जिम्मेवारी लिनुको सट्टा स्थानीय तहलाई दोष दिएको आरोप लगाउँदै राईले सुरक्षा निकाय अनधिकृत व्यक्तिको प्रभावमा चलेको जस्तो देखिएको टिप्पणी गरे। उनले राज्यका संरचनामाथि अनौपचारिक शक्ति केन्द्रको प्रभाव बढ्दै गएको दाबी पनि गरे।
सरकारले आफ्नो सय दिने कार्यकालको समीक्षा गर्दै ८७.२ प्रतिशत उपलब्धि हासिल गरेको दाबी गरेको प्रसंग उल्लेख गर्दै राईले एउटा युवाको आत्मदाह, एउटा बस्तीको विस्थापन र अभियन्तामाथिको दमन नै त्यो उपलब्धिको वास्तविक अनुहार हो भन्दै कटाक्ष गरे।
भाषणको अन्त्यमा उनले बहुमत संविधानभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै सरकारलाई आलोचना र प्रश्नलाई स्वीकार गर्न आग्रह गरे। हिरण्यकश्यपुको अन्त्य इतिहासले सम्झन्छ, त्यो अन्त्य सुखद थिएन भन्दै उनले सरकारलाई लोकतान्त्रिक मूल्य र संवैधानिक सीमाभित्र रहन चेतावनी दिएका छन्।

