काठमाडौं - नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास, प्रमुख सञ्चारमाध्यमका कार्यालय तथा व्यवसायीहरूको आवतजावत हुने स्थानमा शंकास्पद रूपमा सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने नियोजित प्रयासको संज्ञा दिइएको छ। कांग्रेसले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ।
कांग्रेसले घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सञ्चारजगत्, नागरिक समाज, लोकतन्त्रवादी शक्ति र आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि कांग्रेसले आह्वान गरेको छ।
असार २९, २०८३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निजी निवास, लोकप्रिय मिडिया हाउसको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारी साधन तेस्र्याई आवागमन अवरुद्ध गरी आतंकित गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
यो घटनालाई नेपाली कांग्रेसले स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाको रुपमा लिएको छ । यस्तो प्रवृत्ति लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रता माथिको गम्भीर प्रहार हो भन्ने नेपाली कांग्रेसको ठहर छ ।
नेपाली कांग्रेस आतंकको यस शैलीको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दछ । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधि विरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।
जय नेपाल !
प्रदीप पौडेल
महामन्त्री

