Harsamaya
सञ्चारगृहको गेट थुनेर आतंक फैलाइएको पत्रकार महासंघको आरोप
नेपाल पत्रकार महासंघ ।

काठमाडौं - काठमाडौंका प्रमुख सञ्चारगृहको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर पत्रकार र सञ्चारकर्मीको आवतजावत अवरुद्ध पारिएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।

महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको भौतिक आक्रमण र मिडियाको मुख थुन्ने प्रयासको संज्ञा दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडासहितको टोलीले सोमबार घटनास्थलको अनुगमन गरेका थिए।

महासंघका अनुसार बिहान ७ बजेदेखि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा छाडिएका गाडी दिउँसो २ बजेसम्म पनि नहटाइनु र प्रहरी निरीह बनेर बस्नुले गम्भीर प्रश्न उठाएको छ।

महासंघले घटनाप्रति राज्यकै संलग्नता वा संरक्षण रहेको आशंका व्यक्त गर्दै यसलाई सञ्चारमाध्यमलाई दबाबमा राख्ने र अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।

महासंघले सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै, पत्रकार र सञ्चारमाध्यमले संविधानले दिएको अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update