काठमाडौं - राजधानीका तीन प्रमुख सञ्चारमाध्यमको कार्यालयको गेट अगाडि शंकास्पद रूपमा पार्किङ गरेर आवतजावत अवरुद्ध गरिएका गाडीका दर्तावाला खुलेका छन्। तर ती गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यातायात व्यवस्था विभागको विवरणअनुसार कान्तिपुर पब्लिकेसन्स अगाडि राखिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता छ। यस्तै, अनलाइनखबरको कार्यालय अगाडि पार्किङ गरिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेल र हिमालय टेलिभिजन अगाडि राखिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा दर्ता रहेको खुलेको छ।
सोमबार बिहान तीनै सञ्चारमाध्यमको मुख्य प्रवेशद्वार अगाडि गाडी छाडिएपछि पत्रकार र कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न तथा सवारीसाधन लैजान समस्या भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अहिले गाडी त्यहाँ ल्याउने चालक र घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ। घटनापछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीले क्रेनको सहायताले तीनै गाडी हटाएको थियो।
यस घटनालाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको अवरोधको रूपमा टिप्पणी गर्दै दोषीको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

