काठमाडौं - नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् ।
वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् ।
आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताए ।
आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरिकहरू यतिबेला झन् ठूलो अभाव, मानसिक तनाव र विस्थापनको त्रासमा छन् उल्लेख गरे । उनले राज्यकै आश्रयस्थलमा रहेका नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्क्याउने तथा भोकमरीको जोखिममा धकेल्ने कार्य निन्दनीय र अमानवीय भएको टिप्पणी गरेका छन्। साथै, लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता होइन, भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
आचार्यले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन् । उनले पहिले व्यवस्थापन, अनि विस्थापनको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै वैकल्पिक बसोबास, पुनस्र्थापना र जीविकोपार्जनको सुनिश्चिततापछि मात्रै प्रभावित नागरिकलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।
उनले नागरिकमाथि बल प्रयोग गर्ने तथा मानवअधिकारविपरीतका सबै गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गरे । आचार्यले सरकारको ध्यानाकर्षण गराउँदै नागरिकका आधारभूत आवश्यकता र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दा गम्भीर सामाजिक असन्तोष उत्पन्न हुन सक्ने चेतावनी दिए । उनले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

