काठमाडौँ : संसद्मा जनआवाज उठाउने समय नपाएपछि सांसद सीता थपलिया (उर्मिला)ले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र वर्तमान सरकारको कडा आलोचना गर्दै आक्रोश पोखेकी छिन् ।
मुगुका २५ वर्षीय युवा गणेश नेपालीले राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा भएको दुःखद निधनलाई लिएर उनले सिंहदरबारको मौनतामाथि कठोर प्रश्न उठाएकी हुन् ।
विगतमा प्रेम आचार्यले संसद् भवनअगाडि गरेको आत्मदाह र तत्कालीन समयमा काठमाडौँ महानगरका मेयर बालेन साहले व्यक्त गरेको प्रतिक्रियाको स्मरण गराउँदै उनले वर्तमान नेतृत्वको संवेदनशीलता शून्य भएको आरोप लगाएकी छिन् ।
"विपक्षमा हुँदा गर्जन, सरकारमा पुगेपछि किन यो मौनता?" प्रधानमन्त्रीको दोहोरो चरित्रमाथि प्रहार गर्दै सामाजिक सञ्जालमा लेखिएको छ:
"विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं, आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ? प्रधानमन्त्रीज्यू, के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नु पर्ने अवस्था आउँछ?"
उनले थप प्रश्न गरेकी छिन्, "यदि होइन भने, यस्ता हृदयविदारक घटनाहरू किन पटक–पटक दोहोरिइरहेका छन्? तपाईंको शासनमा गरिबले बाँच्न नपाउने हो?"
"मेयर हुँदा साइकल लुट्नुभयो, प्रधानमन्त्री हुँदा सुकुम्बासीको घर भत्काउनुभयो"। सरकार प्रमुखको विगत र वर्तमानको कार्यशैलीलाई जोड्दै उनले दैनिक मजदुरी गरेर खाने वर्गका लागि यो सहर बस्न अयोग्य बन्दै गएको दाबी गरेकी छिन्।
"साझा यातायातको बसलाई निलो पोतेर नागरिक सुरक्षित हुँदैनन्"
सरकारको प्रचारमुखी शैली र 'कस्मेटिक' सुधारमाथि व्यङ्ग्य गर्दै उनले देशको वास्तविक अवस्था सिंहदरबारका प्रतिवेदनले नभई सडकमा छरिएका नागरिकका पीडाले देखाउने उल्लेख गरेकी छिन्।
"प्रचारका रङले यथार्थ ढाक्न सकिँदैन। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकले सुरक्षा महसुस गर्दैनन्। सुरक्षा तब महसुस हुन्छ, जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ, सुशासन कायम गर्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ।"
उनले आक्रोश पोख्दै अगाडि लेखेकी छिन्, "यदि रङ फेर्दैमा देश सुरक्षित हुने हो भने बस मात्र होइन, सिंगो देशलाई नै निलो रङले रंगाइदिनुहोस्। तर सत्य के हो भने रङले होइन, जिम्मेवार शासन र प्रभावकारी राज्य संयन्त्रले नागरिकको जीवन सुरक्षित बनाउँछ।"
चर्को हर्जाना र गणेश नेपालीको नियति
पछिल्लो समय सवारीसाधनमा लगाइएको चर्को हर्जाना र राज्यको क्रुर नीतिका कारण सर्वसाधारण मारमा परेको उल्लेख गर्दै उनले घरबाट ठूलो आशा बोकेर निस्केका गणेश नेपाली आज लासमा परिणत हुनुपर्ने बाध्यताको जवाफ मागेकी छिन्। "सवारीसाधनमा लगाएको चर्को हर्जाना ठिक छ कि छैन भनेर बुझ्न एकपटक गणेश नेपालीको मृत शरीरलाई हेरे पुग्छ सरकार," उनले भावुक हुँदै लेखेकी छिन्।
नागरिकको पीडामा मौन बस्ने सरकार अन्ततः आफ्नै मौनताका कारण इतिहासको कठघरामा उभिनुपर्ने चेतावनी दिँदै उनले जनताको विश्वास भाषणले नभई व्यवहारले मात्र जित्न सकिने स्पष्ट पारेकी छिन्।

