Harsamaya
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’
व्यवसायी दुर्गा प्रसाईं ।

काठमाडौं - व्यवसायी दुर्गा प्रसाईंले सरकार जनताको पीडाप्रति संवेदनशील नभएको आरोप लगाउँदै जनआक्रोशलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक धारणामार्फत प्रसाईंले संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य, राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली तथा झापामा लघुवित्त ऋणको भार सहन नसकेर ज्यान गुमाएका तीन महिलाको घटनालाई राज्यको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । 

उनले सरकार परिवर्तन, मन्त्री हेरफेर र सत्ता फेरिए पनि गरिब, किसान, मजदुर तथा बेरोजगार युवाको अवस्था नफेरिएको दाबी गर्दै सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

आफूले उठाउँदै आएका मुद्दा व्यक्तिगत स्वार्थका लागि नभई भोक, बेरोजगारी, ऋणको भार र राज्यबाट उपेक्षित नागरिकको आवाज भएको उनको भनाइ छ।

प्रसाईंले जनताको धैर्यको पनि सीमा हुने उल्लेख गर्दै समयमै नागरिकका समस्या सम्बोधन नगरे जनआक्रोश सडकमा विस्फोट हुन सक्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update