काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जालमार्फत लिङ्देनले होल्डिङ सेन्टर खाली गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ मागिएको र खाना समेत बन्द गरिएको भन्ने समाचारपछि आफू त्यहाँ पुगेको उल्लेख गर्दै देखिएको अवस्था अत्यन्त पीडादायी रहेको बताएका छन् ।
उनले विद्यालय जानुपर्ने बालबालिका, स्याहार र उपचारको आवश्यकता भएका वृद्धवृद्धा तथा बिरामीहरू एक छाक खानका लागि रोइरहेको दृश्यले मन अमिलो बनाएको उल्लेख गरेका छन् ।
लिङ्देनले राज्य नागरिकको सहारा बन्नुपर्ने भन्दै, नागरिकलाई रुवाउने अवस्था आउन नहुने बताए ।
साथै प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

