Harsamaya
सांसद थपलियाको सरकारलाई प्रश्न : प्रेम आचार्यका बारेमा बोल्ने प्रधानमन्त्री, गणेश नेपालीको विषयमा किन मौन?
नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ।

काठमाडौं - नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सरकार र प्रधानमन्त्रीमाथि कडा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै सांसद थपलियाले व्यवसायी प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन प्रधानमन्त्रीले लेखेको स्टाटस स्मरण गराउँदै अहिले गणेश नेपालीको घटनामा किन मौन बसेको भन्दै प्रश्न गरेकी हुन्।

'प्रेम आचार्यले आत्मदाह गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले लेख्नुभएको स्टाटस आज उहाँलाई याद छ कि छैन ? आज राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा किन मौन बस्नुभयो ?' उनले लेखेकी छन्।

थपलियाले प्रधानमन्त्रीलाई लक्षित गर्दै के राज्य साँच्चिकै असफल भएकै हो त ? यदि होइन भने, यस्ता घटनाहरू किन दोहोरिइरहेका छन् ? भन्दै सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएकी छन्।

सांसद थपलियाले घाइते गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्ने र आवश्यक सबै उपचारको व्यवस्था तत्काल गर्न सरकारसँग मागसमेत गरेकी छन्।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि काठमाडौं महानगरपालिकाको ह्वील लक सम्बन्धी विवादपछि गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। उनी हाल वीर अस्पतालको आईसीयूमा उपचाररत छन् भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update