काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सरकारको सय दिने कार्यशैलीमाथि संसद्मा कडा टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलियाले नयाँ भनिएका शक्तिहरू सत्तामा पुगे पनि पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाइन् ।
उनले सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुम्बासीको आँखामा आँसुको उपहार दिएको भन्दै आक्रोश पोखिन् । "यो सरकारले सय दिनमा केही काम गर्न नसके पनि जनतालाई मल पक्कै दिन्छ भन्ने लागेको थियो, तर सुकुम्बासीको आँखामा आँसु दिएर १०० दिन मनायो," उनले भनिन् ।
सत्ता पक्षका नेताहरूलाई पुरानो दललाई गाली गर्न बन्द गर्न आग्रह गर्दै उनले भनिन्, "तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नुभन्दा अगाडि तपाईँहरूले ऐना हेर्न जरुरी छ, किनभने तपाईँहरूको अनुहारमा पनि हिलो पर्न थालिसकेको छ।" उनले सुशासनको नारा बाँडिए पनि व्यवहारमा नातावाद, कृपावाद र पुरुषवाद झन् झन् मौलाउँदै गएको दाबी समेत गरिन् ।
भिडियो :-

