Harsamaya
१५औँ महाधिवेशनका लागि कांग्रेसको इतर समूहले खोल्यो सम्पर्क कार्यालय 
नेपाली कांग्रेसको इतर समूहको सम्पर्क कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ । 

सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका इतर नेताहरुले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।

कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । 

बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ’विशेष महाधिवेशन’ र ’नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पार्नुभएको उनले बताए । 

पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार ५ महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ । 

नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरुबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पुर्याएको उल्लेख गरे । उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी दिए । 

त्यस्तै आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । १५औँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update