काभ्रेपलाञ्चोक - अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द नगर्ने निर्णय गरिएको छ।
निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने तयारी गरिएको थियो। तर लगातारको वर्षाले सडकको सब–बेस तहमा क्षति पुगेपछि तय गरिएको निर्माण कार्यतालिका कार्यान्वयन गर्न नसकिने भएकाले सडक बन्द नगर्ने निर्णय गरिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार निर्माण कम्पनीले कार्यतालिका फेरबदल गर्न अनुरोध गरेपछि हाललाई रातिको समयमा पनि यातायात नियमित सञ्चालन गरिने भएको छ।
यसअघि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले साउन ४ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। त्यसअनुसार टिपर र ठूला मालवाहक ट्रकलाई पूर्ण रूपमा रोक्ने तथा अन्य सवारीलाई पनि राति मात्रै प्रवेश निषेध गर्ने योजना बनाइएको थियो।
धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको स्तरोन्नति जारी रहेकाले निर्माणको नयाँ कार्यतालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ।

