काठमाडौं - बाढी तथा पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागले सार्वजनिक गरेको बिहान ६ः३० बजेसम्मको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक प्रभावित भएका हुन्।
विभागका अनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन्। अर्को सूचना नभएसम्मका लागि सडक सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रेमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पृथ्वी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ। बेनीघाट रोराङ गाउँपालिका–६ शीतलबजार क्षेत्रमा पनि पहिरोका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ क्षेत्रमा पहिरोका कारण चामे–बेँसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ।
सडक विभागले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाअनुसार सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ।

