Harsamaya
उखु किसानलाई ९२ प्रतिशत भुक्तानी दिएको सरकारको दाबी, किसान भन्छन्–अझै रकम पाएनौं
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै १३ वटा चिनी मिलले उखु किसानलाई ९२ प्रतिशत बक्यौता भुक्तानी गरिसकेको दाबी गरेको छ। तर सर्लाहीसहित विभिन्न जिल्लाका किसानले अझै रकम नपाएको गुनासो गरिरहेका छन्।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम चिनी मिलहरूले भुक्तानी गरिसकेका छन्।

विगतमा किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहे पनि यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । 

सरकारका अनुसार प्रतिक्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराइने करिब १ अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको छ र असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा छ।

बैंक खाता वा प्यान विवरण नमिलेकाले रोकिएका केही किसानको भुक्तानी पनि तत्काल गरिने सरकारको भनाइ छ।

तर सरकारको दाबी विपरीत सर्लाहीका अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी मिल लगायतका उद्योगबाट अझै पनि धेरै किसानले उखुको बक्यौता रकम नपाएको गुनासो गरिरहेका छन्।

धान रोपाइँको व्यस्त समयमा मल अभावसँगै उखुको भुक्तानी नपाउँदा खेतीपातीका लागि आवश्यक खर्च व्यवस्थापन गर्न कठिनाइ भएको किसानहरूको भनाइ छ।

सरकारले भुक्तानी प्रक्रिया प्रभावकारी बनेको दाबी गरे पनि बाँकी रकम कहिले उपलब्ध हुन्छ भन्ने विषयमा किसानहरू अझै अन्योलमा छन्।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update