Harsamaya
१०० दिनमा ८९ हजार मेट्रिक टन मल बिक्री गरेको सरकारको दाबी, किसान भने अझै अभावमा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै ८९ हजार १९४ दशमलव ४४ मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री–वितरण गरेको दाबी गरेको छ।

तर धान रोपाइँको मुख्य सिजनमै देशका विभिन्न स्थानमा किसानहरूले मल अभावको सामना गरिरहेका छन्।

सिंहदरबारमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ५३ हजार ७१६ दशमलव ४५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री–वितरण गरिएको जानकारी दिए । 

सरकारले मल वितरणलाई थप व्यवस्थित, वस्तुपरक र व्यावहारिक बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन) कार्यविधि, २०८३’ समेत जारी गरेको जनाएको छ।

यद्यपि, सरकारको यो दाबीका बीच धान रोपाइँको व्यस्त समयमा पर्याप्त मल नपाएको भन्दै किसानहरूले विभिन्न जिल्लामा गुनासो गरिरहेका छन्।

रोपाइँका बेला मल अभाव दोहोरिएपछि सरकारको वितरण प्रणाली र व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update