हेटौँडा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेको छ । त्यस अवधीका उपलब्धीहरु पनि सार्वजनिक गरेको छ ।
तर मकवानपुरमा भने सरकारका प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी हेटौँडासँग प्रत्यक्ष जोडिएका उद्योग, पूर्वाधार र सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकार गठनपछि एक महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गरिएको थियो । उद्योग सञ्चालनको तयारी भइरहेको दाबी गरिए पनि सय दिन बितिसक्दा पनि उद्योग सञ्चालन हुन सकेको छैन । लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योग पुनः सञ्चालन हुने अपेक्षा गरेका स्थानीय अहिले निराश बनेका छन् ।
यस्तै, हेटौँडा सिमेन्ट उद्योगलाई गुणस्तरीय उत्पादन वितरण गर्ने गरी सुधार गरिने सरकारी प्रतिबद्धता पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ । उद्योगको उत्पादन, व्यवस्थापन र वितरण प्रणालीमा अपेक्षित सुधार नदेखिएको उनीहरूको भनाइ छ ।
मकवानपुरको बहुचर्चित २५ मिटर सडक विस्तारको विषय अझै अन्योलमै रहेको छ । सडक विस्तारको स्पष्ट टुङ्गो सरकारले दिन नसकेको भन्दै प्रभावित स्थानीय आक्रोशित बनेका छन् ।
सडक विस्तारका क्रममा घर तथा संरचना भत्काइएका नागरिकलाई उचित मुआब्जा उपलब्ध गराइने सरकारी प्रतिबद्धता पनि अहिलेसम्म पूरा हुन नसकेको उनीहरूको आरोप छ । क्षतिपूर्ति र मुआब्जाको विषय अझै समाधान नहुँदा प्रभावित परिवारहरू अन्योलमा रहेका छन् ।
त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटे र थानाभर्याङ (थारा) ट्राफिक बिट क्षेत्रमा स्वचालित जरिवाना प्रणाली (फाइन सिस्टम) लागू गर्ने सरकारी योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले घोषणा गरिएको उक्त प्रणाली हालसम्म सञ्चालनमा नआएपछि स्थानीयले सरकारको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन् ।
स्थानीय दीपक खड्काले सरकारले गरेका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएको आरोप लगाए । उनका अनुसार सरकार गठनपछि जनताले अपेक्षा गरेको परिवर्तन अनुभूति गर्न नसकिएको छ ।
उनले भने, ‘बालेन सरकार बनेदेखि देशमा झन् लुटतन्त्र मौलाएको अनुभूति भएको छ। जनताले खोजेको सुशासन र परिणाम देख्न पाएनौँ। अब देशलाई गणतन्त्रभन्दा राजतन्त्र आवश्यक भएको महसुस हुन थालेको छ ।’
त्यस्तै, अर्का स्थानीय राजकुमार श्रेष्ठले पनि आफूले परिवर्तनको आशामा घण्टी चुनाव चिह्नमा मतदान गरेको स्मरण गराउँदै सरकारले सबैभन्दा संवेदनशील विषय २५ मिटर सडक विस्तारको समस्या समाधानमा कुनै चासो नदिएको गुनासो गरे ।
श्रेष्ठले भने, ‘मैले पनि घण्टीमै भोट हालेको हुँ । २५ मिटर सडकको मुद्दा छिट्टै समाधान हुन्छ भन्ने विश्वासमा सरकारलाई समर्थन गरेका थियौँ । तर सय दिन बितिसक्दा पनि सरकारले यो विषयलाई प्राथमिकतामा राखेको देखिएन। अहिले हामी निराश छौँ ।’
मकवानपुरका स्थानीयले भने घोषणा र व्यवहारबीच ठूलो अन्तर रहेको बताउँदै सरकारसँग अधुरा प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरिरहेका छन् ।

