काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लू बस’ सञ्चालन गर्ने योजना सार्वजनिक गर्नु सकारात्मक पहल भएको बताएका छन्।
सामाजिक सञ्जालमा शनिबार लेख्दै घिसिङले साझा यातायातले वर्षौंदेखि विद्युतीय सवारीमार्फत हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाउनु उपयुक्त नहुने उनको धारणा छ।
घिसिङका अनुसार हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित नेपालको राष्ट्रिय संकल्पको प्रतीक हो।
महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन स्वागतयोग्य भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको उनले बताएका छन्।
उनले महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’ मा सीमित हुन नहुने उल्लेख गर्दै सम्पूर्ण सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र महिलामैत्री बनाउन सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन्।
रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको भन्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।
घिसिङले महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता त्यतिबेला मात्र सम्भव हुने बताएका छन्।

