काठमाडौँ - गुन्जन दीक्षित नेपाली रंगमञ्चकी युवा निर्देशक तथा रंगकर्मी हुन् । उनी सन् २०१६ देखि व्यावसायिक रूपमा थिएटरमा सक्रिय छिन् । कक्षा ११ मा अध्ययनरत हुँदा एउटा नाटकका लागि अडिसन दिएर पहिलो पटक रंगमञ्चमा उत्रिएकी उनी त्यसपछि थिएटरसँग गहिरो रूपमा जोडिइन् । उनले अभिनयलाई निरन्तरता दिँदै विभिन्न नाटकमा काम गरिन् ।
स्नातक तहमा उनले परफर्मिङ आर्ट्स, अंग्रेजी र मनोविज्ञान अध्ययन गरिन् । स्नातकोत्तर एप्लाइड थिएटर लिएर अध्ययनलाई अगाडि बढाइन् । मञ्चीय नाटकसँगै एप्लाइड थिएटरमा पनि उनको विशेष रुचि र सक्रियता छ । विभिन्न रंगकर्मीहरूसँग सहकार्य गर्दै उनले अभिनय, निर्देशन र समुदायमा आधारित थिएटर अभ्यासलाई समान रूपमा अघि बढाइरहेकी छन् । हाल उनी चर्चित भारतीय नाट्यकार विजय तेन्दुलकरको चर्चित नाटक ‘श्श्श...! इजलास जारी छ’ को निर्देशन गरिरहेकी छन् । उनै गुन्जनसँग हर समयले गरेको कुराकानी :-
‘श्श्श...! इजलास जारी छ’ यो कस्तो नाटक हो ?
‘श्श्श...! इजलास जारी छ’नाटकका मूल लेखक भारतीय नाटककार विजय तेन्दुलकर हुनुहुन्छ । यसको नेपाली भावानुवाद विजय विस्फोटले गर्नुभएको हो । यो नाटक १५ जना युवा कलाकारसँग गरिएको अभिनय कार्यशालाबाट तयार भएको प्रस्तुति हो । कार्यशालामार्फत नयाँ कलाकारको सीप विकास गर्दै एउटा पूर्ण नाटक मञ्चन गर्ने उद्देश्यका साथ यो नाटक तयार गरिएको हो । यो नाटक पहिलेदेखि नै निर्देशन गर्ने मेरो इच्छा थियो। भारत मात्र होइन, विभिन्न देशमा पनि यसको धेरै सफल मञ्चन भइसकेका छन् । मैले यसको अंग्रेजी, हिन्दी र मराठी संस्करण पढेपछि ‘यो नाटक गर्न पाए हुन्थ्यो’ भन्ने इच्छा थियो । पछि यो टोलीसँग काम गर्ने अवसर जुरेपछि यही नाटक उनीहरूका लागि उपयुक्त हुन्छ भन्ने लाग्यो । त्यसैले अहिले यही टोलीसँग मिलेर ‘श्श्श...! इजलास जारी छ’ निर्देशन गरिरहेकी छु ।
यो नाटक आजभन्दा करिब ६० वर्ष अगाडि नै लेखिएको हो, आजको समयसम्म कत्तिको सान्दर्भिक छ ?
मलाई पनि सुरुमा यही प्रश्न लागेको थियो। करिब ६० वर्षअघि लेखिएको यो नाटक अहिले पनि सान्दर्भिक होला त ? अहिलेको समाज धेरै परिवर्तन भइसकेको अवस्थामा यसले के भन्छ भन्ने जिज्ञासा थियो । यो पुरुष लेखकले लेखेको महिला पात्रको कथा हो । त्यतिबेला यो निकै साहसिक र समयभन्दा अगाडिको नाटक पनि थियो। नाटकले एक महिलाले आफ्नो जीवनमा लिने निर्णय र रोजाइलाई समाजले कसरी हेर्छ, न्याय प्रणालीले त्यसमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने प्रश्न उठाउँछ । विशेषगरी समाजले महिलाका लागि बनाइदिएका सीमा र मर्यादा नाघेर निर्णय लिँदा त्यसको परिणाम के हुन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । अहिले अधिकार, शिक्षा र अवसरका हिसाबले धेरै परिवर्तन भएको छ । तर महिलाप्रतिको सोच, मिसोजिनी र पितृसत्तात्मक मानसिकता भने अझै पूर्ण रूपमा बदलिएको छैन । हाम्रो पौराणिक कथादेखि अहिलेसम्मका महिला पात्रहरूको कथा हेर्दा पनि उनीहरूले निरन्तर चुनौती सामना गर्नुपरेको देखिन्छ । त्यसैले समय धेरै बितिसके पनि महिलाप्रतिको दृष्टिकोण र समाजको सोचमा कति परिवर्तन आयो, कति आएन भन्ने प्रश्न यो नाटकले आज पनि उठाउँछ । यही कारणले यो नाटक अहिले पनि उत्तिकै सान्दर्भिक लाग्यो र निर्देशन गर्न मन लागेको हो ।
मूल नाटकको आत्मालाई जोगाउँदै तपाईँले विशेष के बनाउनुभएको छ ? के फरक देखाउनुभएको छ ?
यो नाटक गरिरहँदा मैले आफैँलाई बारम्बार प्रश्न गरिरहेकी छु । म किन यो नाटक गर्दैछु ? मेरो भिजन के हो ? एउटा नारीवादी दृष्टिकोणबाट हेर्दा म यो बिर्सिन सक्दिनँ कि यो महिला पात्र पुरुषले लेख्नुभएको हो, र यसको भावानुवाद पनि पुरुषले नै गर्नुभएको छ । त्यो आफ्नो ठाउँमा छ । तर आज यो नाटक निर्देशन गर्ने व्यक्ति म हुँ । मैले जीवनमा भोगेका अनुभव, मेरो सोच र मेरो कलात्मक दृष्टिकोण स्वाभाविक रूपमा मञ्चमा आउँछन् । कथाको मूल भाव र सारलाई परिवर्तन नगरी मैले यसलाई आफ्नो दृष्टिकोणबाट हेर्ने प्रयास गरेकी छु । यसमा केही आर्टिस्टिक चोइस र आर्टिस्टिक लिबर्टी पनि लिएकी छु । निर्देशकका रूपमा त्यो मेरो अधिकार पनि हो। संगीत, लाइट, बडी ल्याङ्ग्वेज, भ्वाइस र कोरसजस्ता माध्यमबाट मेरो दृष्टिकोण पनि कहीँ न कहीँ अभिव्यक्त होस् भन्ने चाहना थियो । कथाभित्र मलाई चित्त नबुझेका केही पक्षलाई कलात्मक ढंगले प्रश्न गर्ने र प्रतिरोध गर्ने प्रयास पनि गरेकी छु । त्यसका लागि केही जोखिम पनि लिएकी छु, तर कथाको मूल मर्मलाई भने जोगाउने प्रयास नै गरेको छु ।
यो नाटकको अनुभव दर्शकले मञ्चमै आएर हेर्दा अझ राम्रोसँग बुझ्नुहुन्छ । सरल रूपमा भन्नुपर्दा, यो ‘नाटकभित्रको नाटक’ को शैलीमा प्रस्तुत गरिएको छ। कथामा शिक्षक, समाजसेवी, भर्खर अध्ययन पूरा गरेका युवालगायत विभिन्न पृष्ठभूमिका मानिसहरूको एउटा टोली छ, जसले जनचेतना फैलाउने उद्देश्यले ठाउँ–ठाउँमा कचहरी नाटक मञ्चन गर्दै हिँड्छ। उनीहरूले अदालतमा न्यायाधीश, वकिल र मुद्दाको बहस कसरी हुन्छ भन्ने विषयलाई नाटकमार्फत प्रस्तुत गर्छन्।यसरी एउटा नाटकभित्र अर्को नाटक चलिरहने भएकाले यसको संरचना मेटा लेभलमा बनेको छ। त्योसँगै यसमा एउटा मनोवैज्ञानिक तह पनि छ। कलाकारहरू पात्र र वास्तविक अवस्थाबीच कसरी आवतजावत गर्छन्, ती ट्रान्जिसन र स्विचहरू कसरी हुन्छन् भन्ने कुरा दर्शकका लागि निकै रोचक अनुभव बन्न सक्छ।
नेपाली रङ्गमञ्चमा महिला निर्देशकको रूपमा आफ्नो यात्रा कत्ति सहज वा चुनौतीपूर्ण महसुस गर्नुभयो ?
निर्देशक हुनु भनेको एउटा स्पष्ट भिजन लिएर सम्पूर्ण टोलीलाई त्यसतर्फ अघि बढाउनु हो । तर म व्यक्तिगत रूपमा टिमवर्कमा धेरै विश्वास गर्छु । नाटक कहिल्यै एक जनाको प्रयासले बन्दैन, सबैको आफ्नै योगदान हुन्छ । निर्देशकको काम भनेको सबैलाई समेटेर एउटै दिशामा अघि बढाउनु हो । मेरो भूमिका एउटा भिजन प्रस्तुत गर्ने हो, तर त्यसलाई कसरी सँगै मिलेर साकार बनाउने भन्ने प्रक्रियामा म धेरै विश्वास गर्छु । त्यसैले मेरो निर्देशन शैली आदेश दिनेभन्दा पनि सहकार्य, निरन्तर छलफल, अभ्यास र सामूहिक सोचमा आधारित छ । हामी काम गर्दै जान्छौँ, सँगै छलफल गर्छौँ, समीक्षा गर्छौँ र त्यसै क्रममा नाटकलाई अघि बढाउँछौँ । सुरुमा केही कलाकारको अपेक्षा निर्देशकले सबै कुरा तय गरिदिनुहुन्छ भन्ने पनि थियो । तर मेरो शैली अलि फरक छ । म यो ‘मेरो नाटक’ होइन, ‘हाम्रो नाटक’ भन्ने भावनासहित काम गर्न रुचाउँछु । यही सामूहिक प्रक्रियामा काम गर्दा सबैले आफ्नो योगदान दिन्छन् र नाटक पनि अझ समृद्ध बन्छ । यस उत्पादनबाट मैले पनि धेरै कुरा सिक्ने अवसर पाएकी छु । महिला निर्देशक हुनु मात्रै होइन, मेरो निर्देशनको दृष्टिकोण र काम गर्ने शैली के हो भन्ने कुरा पनि यही प्रक्रियाबाट अझ स्पष्ट हुँदै गएको छ ।
अनुभवी र पहिलो पटक रंगमञ्चमा आएका नयाँ कलाकारसहित १५ जनाको टोलीसँग काम गर्दा निर्देशन प्रक्रिया कत्तिको चुनौतीपूर्ण र कत्तिको सहज रह्यो ?
प्ले बनाउनु एउटा प्रक्रिया हो, तर त्यससँगै सबैले एउटै स्पेसमा रहेर सँगसँगै सिक्ने अवसर पनि पाएका छौं । नयाँ हुँदैमा स्टेजमा आउन नसकिने होइन, हरेकले कतै न कतैबाट सुरु गर्नैपर्छ । पहिलो दिनदेखि अहिलेसम्म कलाकारहरूको प्रगति हेर्दा निकै उत्साहजनक लागेको छ । भ्वाइस प्रोजेक्सन, बडी ल्याङ्ग्वेज, साना–साना जेस्चर र पात्रको सबटेक्स्ट बुझ्ने क्षमतामा सबैले आफ्नो–आफ्नो गतिमा उल्लेखनीय विकास गरेका छन् । सबैले आफ्नो क्षमता अनुसार आफूलाई चुनौती दिँदै अघि बढिरहेको देख्दा खुसी लागेको छ । चुनौतीहरू भए पनि यो प्रक्रियाले सबैलाई ‘म कहाँ थिएँ र अहिले कहाँ पुगेँ’ भन्ने कुरा महसुस गर्ने अवसर दिएको छ । एउटा समूहका रूपमा हामी सबै सँगै बढ्ने अवसर पाएका छौं, र मेरो विचारमा यो प्रक्रिया सबैका लागि निकै फलदायी बनेको छ।
बाह्य देशको सहयोग त छँदैछ, तर नेपाली नाटक क्षेत्र र कलाकारको दिगोपनका लागि नेपाल सरकार वा सरोकारवाला निकायले चाहिँ के गरिदिनुपर्छ जस्तो लाग्छ ?
अहिलेको समयमा नाटक गर्न निकै गाह्रो छ। हल भाडादेखि लिएर आवश्यक स्रोतसाधन जुटाउने, रिसोर्स पर्सनसँग सहकार्य गर्ने सबै कुरा चुनौतीपूर्ण छन्। त्यसैले स्थानीय सरकारले अन्तर्राष्ट्रिय ग्रान्टजस्तै नाटक र रंगमञ्चका लागि पनि विभिन्न ग्रान्ट कार्यक्रम ल्याउन सके ठूलो सहयोग पुग्छ । भर्खरै काम सुरु गरेका टोली र कलाकारका लागि छुट्टै, लामो समयदेखि काम गरिरहेका कलाकारका लागि छुट्टै गरी विविध अवसर सिर्जना गर्न सकियो भने नेपाली रंगमञ्चलाई धेरै सहज हुन्छ। अहिले धेरै समूहले क्राउडफन्डिङ, व्यक्तिगत सहयोग र स्पोन्सरको भरमा नाटक गरिरहेका छन्। तर यस्तो अभ्यास सधैं दिगो हुँदैन। सबैसँग त्यसरी स्रोत जुटाउने क्षमता पनि हुँदैन । त्यसैले स्थानीय सरकारले रंगमञ्चका लागि नियमित र विविध खालका ग्रान्ट तथा सहयोगका कार्यक्रम ल्याउन सके कलाकार र नाटक दुवैका लागि ठूलो राहत मिल्ने मेरो विश्वास छ ।
महिला भएर कला क्षेत्रमा काम गर्दा के-कस्ता चुनौती सामना गर्नुपर्यो?
मेरो अनुभवमा अहिले त्यो समस्या पहिलेको जस्तो छैन। १०–१५ वर्षअघि दिदीहरूले रंगमञ्चमा काम सुरु गर्दा धेरै चुनौती सामना गर्नुपरेको थियो। अहिले सबैको अनुभव फरक हुन सक्छ, तर मैले भने केही परिवर्तन आएको देखेको छु। विशेषगरी काठमाडौंमा हेर्ने हो भने अहिले कला सम्बन्धी कार्यक्रम, प्रदर्शनी र गतिविधि धेरै भइरहेका छन्। रंगकर्मी मात्र होइन, संगीतकार, भिजुअल आर्टिस्टलगायत समग्र कला क्षेत्रमा समाजको दृष्टिकोण बिस्तारै सकारात्मक बन्दै गएको छ। पूर्ण रूपमा परिवर्तन भइसकेको त छैन, तर कलाकारप्रतिको सम्मान पहिलेभन्दा बढेको महसुस हुन्छ। तर अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको आर्थिक पक्ष हो। कला क्षेत्रमा लाग भनेर कसैले रोक्नेभन्दा पनि ‘यसबाट आर्थिक रूपमा कसरी टिक्ने?’ भन्ने प्रश्न बढी ठूलो छ। वास्तवमा कलाकार भएर मात्रै जीविका चलाउन निकै गाह्रो छ। त्यसैले धेरैले पार्टटाइम जागिर, अध्यापन, फिल्ममा सहायक निर्देशकजस्ता अन्य काम पनि सँगै गर्नुपर्ने अवस्था छ।
थिएटर मात्रै गरेर आर्थिक रूपमा टिक्न अझै चुनौतीपूर्ण छ। त्यसैले कलाकारलाई हौसला दिनेभन्दा पनि आर्थिक रूपमा कसरी दिगो बनाउने भन्ने विषय अहिलेको मुख्य चुनौती हो। दर्शकले नाटक हेरेर साथ दिनुभयो, नाटक गर्ने अवसरहरू बढ्दै गए भने रंगमञ्चमा निरन्तर काम गर्न कलाकारका लागि पक्कै पनि धेरै सहज हुँदै जानेछ ।
आजभोलि छोटो कोर्स गरेरै कलाकार बन्न खोज्ने प्रवृत्ति बढेको छ । अभिनयमा दीर्घकालीन रूपमा टिक्न र राम्रो कलाकार बन्न के आवश्यक छ ?
तीन–चार महिनाको कोर्स त सुरुवात मात्रै हो। थिएटर होस् वा फिल्म, अभिनय निरन्तर अभ्यासको विषय हो। जति अभ्यास गर्यो, त्यति नै आफू राम्रो हुँदै जाने हो। त्यसैले छोटो कोर्सले आधार तयार गर्छ, तर त्यतिमै कलाकार बन्न सकिँदैन। नियमित अभ्यास गर्नुपर्छ । आफूलाई निरन्तर चुनौती दिनुपर्छ। म त सधैं के सोच्छु भने, मैले गरेको अघिल्लो नाटक र अर्को नाटकबीच मेरो आफ्नै विकास देखिनुपर्छ। प्रतिस्पर्धा अरूसँगभन्दा पनि आफैँसँग हुनुपर्छ। यदि हरेक कलाकारले ‘मेरो सुधार भयो कि भएन?’ भन्ने प्रश्न आफैँलाई गरिरहने हो भने सबैको अभिनय र समग्र रंगमञ्च दुवैको विकास हुन्छ भन्ने मलाई लाग्छ ।
आजको डिजिटल युगमा रङ्गमञ्च किन आवश्यक छ? दर्शकलाई यो थिएटरसम्म ल्याउन के गर्नुपर्छ जस्तो लाग्छ?
अहिले सबै कुरा अनलाइनमा उपलब्ध छ। युट्युबदेखि नेटफ्लिक्स र अमेजनजस्ता प्लेटफर्मका कारण चलचित्र पनि घरमै बसेर हेर्न सकिने भएको छ। तर नाटक भनेको समुदायलाई एकै ठाउँमा ल्याउने माध्यम हो। सँगै बसेर लाइभ थिएटर हेर्ने, कला अनुभव गर्ने र त्यसबारे छलफल गर्ने अवसर नाटकले दिन्छ। अहिले हामी धेरै आइसोलेटेड भइसकेका छौँ। फोन भएपछि अरू केही चाहिँदैन जस्तो भएको छ। यस्तो समयमा नाटकले ‘हामी एउटा समुदाय हौँ, सँगै आउँ, नाटक हेरौँ, कलालाई सहयोग गरौँ, प्रोत्साहन गरौँ र यसले भन्न खोजेको विषयमा छलफल गरौँ’ भन्ने वातावरण सिर्जना गर्छ। त्यसैले अहिलेको समयमा थिएटर अझ बढी महत्त्वपूर्ण भएको जस्तो लाग्छ। थिएटरको अर्को विशेषता भनेको कलाकारलाई प्रत्यक्ष रूपमा हेर्न पाउनु हो। चलचित्रको आफ्नै स्थान छ, तर लाइभ थिएटरको जुन जादु हुन्छ, त्यो कुनै पनि माध्यमले प्रतिस्थापन गर्न सक्दैन। रेकर्ड गरिएको नाटक अनलाइनमा हेर्दा पनि त्यही प्रभाव आउँदैन, जुन प्रत्यक्ष रंगमञ्चमा बसेर नाटक हेर्दा महसुस हुन्छ। त्यसैले मानिसहरूलाई सँगै ल्याउने र समुदायको भावना बलियो बनाउने उत्कृष्ट माध्यम थिएटर हो भन्ने मेरो विश्वास छ।
दर्शकले यो नाटक किन हेर्ने ? दर्शकलाई के सन्देश दिन चाहनुहुन्छ?
यो नाटक असार १९ गते (जुलाई ३) देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । नाटक तीन हप्तासम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे नियमित प्रदर्शन हुनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ। टिकट बुकिङ र अन्य जानकारी मण्डला थिएटरको फेसबुक र इन्स्टाग्राम पेजमा उपलब्ध छन्। नाटकको सन्देशका बारेमा भन्नुपर्दा, दर्शकले आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक कुरा लिएर जानुहुन्छ भन्ने लाग्छ। नाटकले कुनै अन्तिम उत्तर दिँदैन, बरु सोच्ने दृष्टिकोण दिन्छ। यो नाटकले विशेषगरी कानुन र न्याय प्रणालीले महिलाका रोजाइ तथा निर्णयलाई कसरी हेर्छ, त्यसको असर कस्तो पर्छ भन्ने विषयलाई उठाएको छ। साथै, करिब ६० वर्षअघि लेखिएको यो नाटक आज पनि किन सान्दर्भिक छ, के परिवर्तन भयो र के अझै परिवर्तन हुन बाँकी छ भन्ने प्रश्न पनि दर्शकसामु राख्छ। मेरो चाहना दर्शकले नाटक हेरेर आफ्नै जीवन, समाज, कानुन र त्यसको संरचनाबारे अझ गहिरो रूपमा सोचून् भन्ने हो। कानुन कसरी बन्छ, कसले बनाउँछ र त्यसले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा नाटकले केही दृष्टिकोण प्रस्तुत गर्छ। अन्तिम निष्कर्ष दिनेभन्दा पनि दर्शकलाई नियाल्न, मनन गर्न र आफ्नो दृष्टिकोण बनाउन प्रेरित गर्नु नै यसको उद्देश्य हो ।



