Harsamaya

काठमाडौं - नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भर्त्सना गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए।

उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भर्त्सना गरेको छ र उनलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’

त्यस्तै, उनको अनुसार सरकार तानाशाही र स्वेच्छाचारी अधिनायकवादको बाटोमा हिँडेको तथा विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको निष्कर्ष बैठकले निकालेको छ।

‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ। यो कदम पूर्णतः अधिनायकवादी छ र विधिको शासन एवं कानुनी राज्यको विरुद्धमा छ,’ उनले थपे।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update