Harsamaya
कविता : मानवता, शान्ति र न्यायसँग जोडिएको दिन
ग्राफिक्स : हर समय/Har Samaya

युद्धको ढोलक बजेको दिन, 
बम र बारुदका गोली बर्सेको दिन, 
धेरै मनहरू पनि घाइते भए,
सपनाहरू चुँडिएर खसे,
र भविष्य रगतले बग्यो, 
सन्नाटा र अँध्यारोमा सहारा बन्यो । 

त्यो बेलाको गर्जनले 
मौन छ आकाश आज पनि,
कथा भारी छ समयको,
मानवताको चित्कार रगतमा बग्यो । 
सुन्नेहरु बहिरा बने, देख्नेहरु दृष्टिबिहिन 
त्यो चित्कार कसैको कानले सुनेन ।
रगतले लेखियो । 

शब्दहरू पनि थाकेर रोएको दिन यो दिन, 
युद्धका डोवहरुमा माम्म्री लागेको छ,
छिनछिनमा बल्झिन्छ र रगत बग्छ । 
म कथा बनेकी एक पात्र 
मेरै कथाहरू भित्रै भित्र गुम्सिँदा,
चुपचाप जलिरहेको मेरो शरीरले
मौनतालाई रोज्यो । 

तर आँसुहरू शब्द बन्न सकेनन्,
रातहरू साक्षी बसिरहे,
शरीर होइन, आत्मा पनि,
युद्धका डोवहरुले धेरै पटक हरायो।

सन्नाटासँगै त्यो रात,
मौनता पनि रगतले भिजेको थियो,
त्यो दिनदेखि आजसम्म 
डरको छायाँ हटेको छैन, 
न्याय खोज्ने यात्रामा पनि,
पाइला–पाइला ठेस लागिरहेको छ । 

कसैले नलेखेको पीडा बोकेर,
कसैले नसुनेको कथा लिएर,
घाइते जिन्दगी बोकेर, 
आज फेरि शान्तिको बाटो खोज्दै हिँडिरहेछु।

यो केवल कथा होइन आज,
यो पीडाको इतिहास हो,
मानवता हराउँदा युद्धका निशानहरुले
न्याय अझै खोजिरहन्छ।

समयमै सत्यको उज्यालो बाटो 
कहाँ भेटिएला ? 
शान्ति केवल अब शब्दमात्र होइन,
यथार्थ जीवन बन्न सकोस् । 

आज जुन १९ को यो शान्त आकाशमा,
मौनताभित्र आवाज उठ्छ विस्तारै
पीडा धेरै भयो अब न्याय देउँ सरकार, 
यो जीवनलाई फेरि उज्यालो चाहिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update