Harsamaya
२० वर्ष पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार प्रोत्साहन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने नगर क्षेत्रका छोरीलाई ५१ हजार नगद प्रोत्साहन उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उनले कानुनी उमेर पुगेपछि विवाह गर्न प्रोत्साहन गर्नुका साथै समाजमा सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए । 

यसअघि नगरपालिकाले २०८० चैतदेखि मुसहर समुदायका उमेर पुगेका जोडीलाई रु ५० हजार प्रोत्साहन दिने व्यवस्था गरेको थियो । तर हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त सुविधा लिएको नगरपालिकाको अभिलेखमा उल्लेख छ।

बर्दिबासका १४ वडामध्ये १३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् भने बर्दिबास–१२ मात्र घोषणा हुन बाँकी छ। नगरपालिकाको नयाँ निर्णयले बालविवाह नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मुसहर समुदायका लागि भने पुरुष र महिला दुवैलाई प्रोत्साहन रकम दिने पुरानै व्यवस्था कायम रहने नगरप्रमुख क्षेत्रीले स्पष्ट पारेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update