काठमाडौं - चार दशकभन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीका सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। लामो राजनीतिक यात्रामा आफूले पार्टी, आन्दोलन, देश र जनताको सेवामा जीवनको महत्वपूर्ण हिस्सा समर्पित गरेको स्मरण गर्दै महराले अब सामान्य सदस्यका रूपमा रहने निर्णय गरेका हुन्।
बिहीबार आफ्नो जन्मदिनमा सार्वजनिक गरेको भावुक वक्तव्यमा महराले आफू विगत केही वर्षदेखि ‘एट्रोफी’सम्बन्धी रोगबाट पीडित रहेको उल्लेख गरेका छन्। नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले पार्टीका जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको उनले बताएका छन्।
‘निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको छु,’ महराले वक्तव्यमा भनेका छन्। उनले यो निर्णय असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्।
महराले ४५ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गरेका छन्। नेकपा चौथो महाधिवेशन, माओवादी आन्दोलन, जनयुद्ध र हालको नेकपासम्म आइपुग्दा आफूले अनगिन्ती सहकर्मी, जनसमुदाय र परिवारबाट माया, विश्वास र सहयोग प्राप्त गरेको स्मरण गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन्।
शरीर कमजोर बन्दै गए पनि देशप्रतिको चिन्ता र जनताप्रतिको प्रेम भने कहिल्यै समाप्त नहुने महराको भनाइ छ। ‘मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ,’ उनले लेखेका छन्।
नयाँ पुस्ताका ऊर्जावान युवाहरूले नेपाललाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै महराले उनीहरूको सफलतामै पुरानो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन्।
राजनीतिक जीवनको लामो यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उनले हार्दिक आभार प्रकट गरेका छन्।

