काठमाडौं - आफूलाई ई–सेवाको कर्मचारी भन्दै सर्वसाधारणलाई झुक्याएर रकम ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
साइबर ब्युरोले रौतहटको खेसरहिया गाउँपालिका–१ स्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई पक्राउ गरेको जनाएको छ ।
साइबर ब्युरोका अनुसार शाहले ई–सेवाबाट फोन गरेको भन्दै तपाईंको खातामा धेरै रिवार्ड पोइन्ट रहेको छ, त्यसको प्रयोग गर्नुपर्छ भनेर प्रलोभन देखाउँदै पीडितलाई फोन गर्ने गरेका थिए । त्यसक्रममा उनले विभिन्न बहानामा ओटीपी समेत प्राप्त गरी पीडितको ई–सेवा खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरेका थिए ।
अनुसन्धानका क्रममा उनले एक पीडितको खाताबाट एक लाख ९८ हजार ४ सय ७९ रुपैयाँ रकम अन्य खातामा सारेर सो रकमबाट आइफोन–१७ मोबाइलसमेत खरिद गरेको खुलेको प्रहरीले जनाएको छ ।
ब्युरोले भोटाहिटीबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट आठ थान मोबाइल फोन, चार थान सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिएका १५३ जनाको ई–सेवा आईडीसँग सम्बन्धित विवरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
विद्युतीय माध्यमसम्बन्धी ठगी तथा अपराध मुद्दामा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार उनी यसअघि पनि यस्तै प्रकृतिका दुईवटा साइबर अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको व्यक्ति हुन् ।
साइबर ब्युरोले यस्ता फोन, सन्देश वा प्रलोभनमा नपर्न र शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

